समाचार

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

२७ जेठ, जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षि जनक विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण ११४ विद्यार्थीलाई आज दीक्षित गरेका छन्। सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले जनकपुरधाममा आयोजित प्रथम दीक्षान्त समारोहमा सो विश्वविद्यालयबाट गत तीन वर्षदेखि उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेका हुन्।

सो अवसरमा उनले विश्वविद्यालयमा उत्कृष्ट हुने चार जना र विभिन्न सङ्काय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १० जना विद्यार्थीहरुलाई पदक समेत प्रदान गरे ।

यसैगरी सोही समारोहमा वरिष्ठ साहित्यकार प्रा डा राजेन्द्र विमलले उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र तथा ‘मेडल’ प्रदान गरेका थिए ।

समारोहमा प्रा डा विमलले आफूले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमानदारीपूर्वक लगाउन विधार्थीहरुलाई आग्रह गरे ।

विश्वविद्यालयका उपकुलपति डा अमरप्रसाद यादवले प्रथम दीक्षान्त समारोह ऐतिहासिक रहेको उल्लेख गर्दैै गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध विश्वविद्यालयलाई आवश्यक सहयोगका लागि आग्रह गरे।