आर्थिक

धितो पत्र बोर्डका अध्यक्ष श्रेष्ठविरुद्धको समाचार हटाउन अदालतको आदेश

२८ जेठ, काठमाडौँ । जिल्ला अदालत काठमाडौंले बिजमाण्डु र नेपाल खबरमा प्रकाशित धितो पत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको विषयमा लेखिएको समाचार हटाउन आदेश दिएको छ । 

जेठ २६ गते समाचार हटाउन अल्पकालीन आदेश माग गर्दै अध्यक्ष श्रेष्ठले दिएको निवेदनमा सुनुवाइ गर्दै, ‘विभिन्न शीर्षक राखी समाचारहरू प्रकाशन गरी निवेदकको इज्जत प्रतिष्ठामा आँच पुर्‍याएको, बेइज्जती गर्ने तवरबाट समाचार प्रकाशन गरेको भन्ने निवेदनसाथ संलग्न विभिन्न मितिमा प्रकाशित समाचार समेतबाट देखिँदा निवेदकलाई अपूरणीय क्षति र सुविधा सन्तुलनसमेतको दृष्टिकोणबाट विपक्षीहरूलाई आफ्नो वेबसाइट, अनलाइन वा अन्य माध्यमबाट अप्रमाणित, तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नु, नगराउनु, प्रकाशित भएका समाचारहरू अनलाइनबाट तुरुन्त हटाउनू, हटाउन लगाउनू’  अदालतले भनेको छ । 

जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले उक्त आदेश दिएपछि पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मालगायत पत्रकारितासँग सम्बन्धीतहरुले विरोध जनाइरहेका छन् । पत्रकार महासङ्घले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको अवस्था भने छैन ।  

विपक्षका नाममा असार ४ गतेका लागि आफ्ना कुरा राख्नसमेत आदेश जारी भएको अवस्था छ ।