समाचार

विद्युतीय प्रणालीमार्फत अनेरास्ववियुको मतदान सुरु, अध्यक्ष पदका लागि पौडेल र कडरिया मैदानमा

२९ जेठ, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को  २४औँ राष्ट्रिय महाधिवेशन बाट नयाँ नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ । हिजो मतदान हुने भने पनि आज मात्रै प्रक्रिया सुरु भएको हो। 

अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा. सुजन कडरिया मैदानमा रहेका छन्। उनीहरूले  पहिलो मतदान गरी निर्वाचन प्रक्रियाको सुरुवात गरेका हुन्।  मतदान  विद्युतीय प्रणालीमार्फत भइरहेको छ। मतदान बिहान ८ बजेबाट सुरु भएको हो र यो अपराह्न ४ बजेसम्म चल्नेछ।  

खुला उपाध्यक्ष पदमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, र गणेशबहादुर शाही मैदानमा छन् । यस्तै महिला उपाध्यक्ष पदका लागि सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराई प्रतिस्पर्धामा छन् । महासचिव पदमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।

महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार भएकाले एक जनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न समय लाग्ने जनाइएको छ ।