२९ जेठ, काठमाडौँ। लन्डनको लागि उडान भरेको एयर इन्डियाको एआई १७१ विमान दुर्घटना भएको छ। भारतको गुजरातस्थित अहमदाबादमा विमान दुर्घटना भएको हो ।
उडान भरेको केहीबेरमै विमान दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अधिकारीका अनुसार विमानमा २३२ यात्रु र १२ चालक दलका सदस्य थिए
भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवाईले विमान मेघानी नगर भनिने आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाएका छन् ।
दुर्घटनापछि आकाशमा बाक्लो धुवाँ देखिएको छ । विमान बस्ती नजिकै दुर्घटना भएकाले जनधनको ठूलो क्षति हुने आशंका गरिएको छ । घटनास्थलमा दमकल र एम्बुलेन्ससहित उद्धार टोली परिचालित भइसकेका छन् ।
दुर्घटना अहमदाबादको मेघानी क्षेत्रनजिकै भएको हो । टेकअफका क्रममा विमानको पछिल्लो भाग रनवेछेउको रुखमा ठोक्किँदा सन्तुलन गुमाएर विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।