समाचार

प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो बस्ने

२९ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ः०० बजे बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक प्रुमख प्रतिपक्षीलगायतका विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आज अपराह्न ३ः०० बजेका लागि बोलाइएको बैठक दलहरुबीचको आन्तरिक छलफलका कारण सूचना प्रकाशित गरेर साँझ ५ः३० लागि सारिएको थियो । सो समयमासमेत बैठक बस्न नसकेपछि साँझ ६ः३० बजेका लागि निर्धारण गरिएको थियो ।

निर्धारित समयमा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले विरोध जारी राखे । सभामुख देवराज घिमिरेले पटकपटक विपक्षी दलका सांसदलाई आशनग्रहण गर्न आग्रह गर्नुभए पनि विरोध जारी रहेपछि कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाइएको जानकारी गराए । ‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरुले यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन् ।

यसबीचमा प्रमुख दलबीच सहमतिको बिन्दु पहिल्याउन पटकपटक द्विपक्षीय, बहुपक्षीय छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । सभामुख घिमिरेले आज पनि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए । यस्तै, माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेपाली कांग्रेसका नेताहरुबीच पनि छलफल भएको थियो ।