राजनीति

अनेरास्ववियुको अध्यक्षमा ओली पक्षका डा. कडरिया सात मतको झिनो अन्तरले बिजयी

३० जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका डा सुजन कडरिया निर्वाचित भएका छन् । उनले सात सय ३२ मत ल्याएर विजयी भएका हुन्।

कीर्तिपुरमा जारी सम्मेलनमा हिजो बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतको झिनो अन्तरले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत पाएका थिए। कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट आधीकारीक रूपमा प्रस्ताव भएको थियो । तर सहभागीहरुले विरोध गरेपछि निर्वाचनमा गएको हो।

अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी विजयी बनेका हुन्। उनी पौडेल प्यानलका उम्मेदवार थिए। त्यसैगरी, उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन् भने सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित भए। त्यस्तै आयोग अध्यक्ष प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन्।

अनेरास्ववियुको यस्तो बन्यो पदाधिकारीको टीम:

अध्यक्ष: सुजन कडरिया
उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिव : दिपक धामी
उपमहासचिव: कमल जोशी
सचिव : आकाश घर्ती
सचिव: रचना सापकोटा
सचिव : समिम बाबु
सचिव : गोपाल नेपाल
आयोग अध्यक्ष :प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला