३० जेठ, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी प्रचार गरेकोमा आपत्ति जनाएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत ज्ञवालीले आफ्नै पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित गरेको देखेर आफू आश्चर्य चकित भएको बताएकी हुन्।
परराष्ट्र मन्त्री राणाले निर्देशक ज्ञवालीसँग कुरा गर्नुको कारण खुलाउदैन लेखेकी छन्,”हाम्रो परिवारलाई बदनाम गराउने दूषित मनसाय सहित सामाजिक सञ्जालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरूपणका बारेमा उहाँसँग कुराकानी भएको हो ।”
शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै राणाले आफू विरुद्ध भिडियो बनाउने मिडिया सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर राज्यको कानुन अनुसार नै न्याय खोजेको दाबी गरेकी छन्।
‘उक्त भ्रामक भिडियो पोस्ट गर्ने विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ र कानुनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो’, उनले लेखेकी छिन्।
केही दिन अघि पत्रकार दिलभूषण पाठकले काँग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री राणाका छोरा जयवीरलाई लक्षित गर्दै हिल्टन होटलको शेयरका सम्बन्धमा भिडियो प्रसारण गरेका थिए। सोही विषयमा साइबर ब्युरोमा परेको उजुरी आधारमा जिल्ला अदालत काठमाडौँबाट पाठकलाई पक्राउ पुर्जी जारी भएको थियो। पत्रकार पाठकलाई जारी भएको पक्राउ पुर्जीका विरुद्ध काँग्रेस भित्रबाट पनि विरोध भएको छ भने देशका अधिकांश राजनीतिक पार्टीहरूले वाक सरकार वाक स्वतन्त्रताको विरुद्ध संविधान विपरीत गैर पक्राउ पुर्जी जारी गरेको भन्दै विरोध गरेका छन्।
