राजनीति

संसद् खुलाउन दुई बुँदे सहमति, रास्वपाले भने गरेन हस्ताक्षर (यस्तो छ दुई बुँदा)

३० जेठ, काठमाडौँ । संसद् खुलाउन शीर्ष तीन दलले दुई बुँदे सहमति गरेका छन्।  भिजिट भिसा प्रकरणको छानबिन गर्ने विषयलाई लिएर दुई बुँदे सहमति गरेका हुन्। 

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति गरे पनि अर्को विपक्षी दल रास्वपाले भने हस्ताक्षर गरेको छैन। सहमतिका पत्रमा काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका हुन्। 

यस्तो छ सहमतिका दुई बुँदा:   

१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्‍याउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्ने ।

२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।