३० जेठ, काठमाडौँ । संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भिजिट भिसा प्रकरणमा एक्लिएको छ। आज प्रतिनिधिसभाको गतिरोध अन्त्यको लागि भन्दै तीन शीर्ष दलले सहमति गरेपछि एक्लो बनेको हो।
रास्वपाले मानव तस्करीको विषयलाई गम्भीर रूपमा उठाउँदै आएको थियो भने पछिल्लो समय अध्यागमनमा गृहमन्त्री रमेश लेखकको नाम समेत जोडेर समाचार आएपछि गृहमन्त्रीको राजीनामा र अनुसन्धानको लागि छानबिन समिति बनाउनुपर्ने अडान लिँदै आएको थियो।
सत्तारुढ दुई दल नेपाली काँग्रेस र एमालेसँग मिलेर प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति गरेपछि रास्वपा एक्लिएको हो। केही दिनअघि रास्वपाले गृहमन्त्रीको राजीनामासमेत समेटेर पाँच बुँदे प्रस्ताव पेस गरेको थियो। यसमा सत्तापक्षले असहमति जनाएपछि दलहरू मध्यमार्गी बाटो खोज्दै आएका थिए।