राजनीति

रोस्टमबाटै गृहमन्त्री लेखकले भने: रास्वपाको पार्टी कार्यालय किर्ते जालसाजीपूर्ण कार्यालय बनेको छ, कानुनी कारबाही हुन्छ 

३० जेठ, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आफ्ना विरुद्ध नक्कली जाहेरीहरू लेखेर षडयन्त्र गरेको आरोप लगाएका छन् ।  संसद्को रोस्टमबाटै उनले यस्तो आरोप लगाएका हुन्। 

उनले आफू विरुद्ध  विभिन्न ठाउँमा मुद्दा दर्ता गर्न खोजेको थाहा पाइसकेको ले अब कानुनी कारबाही गर्ने बताएका हुन्।  

 भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिन रोस्टममा पुगेका उनले उल्टै रास्वपा माथि गम्भीर आरोप लगाएका  हुन्। उनले पार्टी कार्यालय किर्ते जालसाजीपूर्ण कार्यालय बन्दै गएको भन्दै सचेत बन्न रास्वपाका सांसदहरूलाई चेतावनी दिएका हुन्। 

गृहमन्त्री लेखकले भने ,’पार्टीका कार्यालयमा नक्कली तथाकथितलाई बोलाएर नक्कली जाहेरीहरू लेखेर मेरा विरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरहेका छन्।  कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ।  यस्ता किर्ते जालसाज, अमर्यादित कार्य गरेर राजनीतिक अभीष्ट पूरा गर्न नलाग्न म साथीहरूलाई आग्रह गर्छु। यस्ता अपमानजनक कार्य र नक्कली पीडित खडा गर्नेलाई पत्ता लगाएर कारबाही  गरिने छ।’