३१ जेठ, काठमाडौँ । असार १५ गते जारी गर्ने भनिएको विद्यालय शिक्षा विधेयकका बारे छलफल गर्न समितिको बैठक बस्ने भएको छ। आज ११ बजे प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकको केही बुँदामा आफ्नो धारणा राख्ने भएको छ। शिक्षा मन्त्री रघुजी पन्तले सरकारको धारणा तय गर्न र सरोकारवालासँग छलफल गर्न ७ दिनको समय मागेका थिए । उपसमितिले पेस गरेको प्रतिवेदनमा शिक्षक महासङ्घ लगायत सरोकारवाला निकायले असन्तुष्टि जनाएपछि मन्त्री पन्तले समितिसँग आफ्नो धारणा बनाउन पटक पटक गरी १० दिनको समय मागेका थिए।
समितिले दिएको समयमा सरोकारवालासँग मन्त्रालयले छलफल गरेपछि शिक्षा विधेयकका विषयमा मन्त्रालयले आफ्नो प्रस्ताव तयार पारेर आजको बैठकमा पेस गर्ने भएको हो। शिक्षक महासङ्घले २९ दिन लामो सडक आन्दोलन गरेपछि १७ वैशाखमा ९ बुँदे सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन गर्न मन्त्रालय तयार भएको छ भने कानुन निर्माण गरेर आगामी असार १५ मा नयाँ शिक्षा विधेयक घोषणा गर्ने सहमति भएको थियो ।