३१ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा अग्नि सापकोटा र दुई बुँदामा कुनै साइनो नबहेको बताएका छन्। विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले सदन खुलाउन सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेसँग गरेको सहमति र आफ्नो पार्टीका उपाध्यक्ष अग्नि सापकोटाबिच कुनै साइनो नभएको स्पष्ट पारेका हुन्।
भिजिट भिसा प्रकरणका आरोपित गृहमन्त्री रमेश लेखकले राजीनामा दिनै पर्ने अडानबाट पछि हटेपछि प्रवक्ता समेत रहेका उपाध्यक्ष सापकोटा लाई पक्राउ नगर्ने र गृहमन्त्रीको राजीनामा माओवादी पनि नमाग्ने गोप्य सहमति बनेको भनी प्रचार भइरहेको समयमा अध्यक्ष दाहालको यस्तो धारणा आएको हो। माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
संसद् बैठक अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले हिजो शुक्रवार सदन खुलाउन काँग्रेस र एमालेसँग दुई बुँदे सहमति गरेको थियो। यसै प्रसङ्गलाई लिएर अध्यक्ष दाहाललाई लिएर विभिन्न टिका टिप्पणी समेत हुँदै आएका छन्।
अध्यक्ष दाहालले आफूहरूले सरकारलाई एक महिनाको समय सीमा दिएको समेत बताए। भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारलाई एक महिनाको समय दिएको र भिजिट भिसा प्रकरण छानबिनको मुद्दा नछाडेको जिकिर गरे।
यस प्रकरणमा एक महिनाभित्र छानबिन समिति बनाउने सहमति भएपछि तत्काललाई संसद् बैठक चल्न दिने सहमति गरिएको अध्यक्ष दाहालको दाबी छ।