३१ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपमहासचिव जनार्दन शर्मालाई आफूले पार्टी छाड नभनेको स्पष्ट पारेका छन्। आज पार्टी कामको सिलसिलामा विराटनगर विमानस्थलमा पुगेका उनले आफूले शर्मालाई पार्टी छाड भन्यो भनेर चलाइएको अफवाह भएको दाबी गरे।
पत्रकारले जनार्दन शर्मालाई पार्टी छाड भन्नुभयो भयो रे नि भन्ने प्रश्नमा अध्यक्ष दाहालले आफूले भनेकै छैन त्यो बेकारको कुरा हो भन्दै जवाफ फर्काएका थिए। उनले त्यो अफवाह पत्याउनुभयो भने त्यो गल्ती गर्नुभयो भन्दै त्यो फैलाइएको हल्ला भएको दाबी गरे।
यद्यपि उपमहासचिव शर्मा र अध्यक्ष दाहालबिच पार्टीको युवा सङ्गठन वाइसिएल नेपालको महाधिवेशनलाई लिएर विवाद भएको भने समाचार बाहिर आइरहेका छन्। सोही विषयमा पत्रकारहरूले अध्यक्ष दाहाललाई जिज्ञासा राखेका थिए।