राजनीति

देशको बृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छः उपमहासचिव ज्ञवाली

३१ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताएका छन् ।

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भए पनि मुलुकको बृहत्तर हितका लागि द्विदलीय साझेदारी आवश्यकयक भएको बताए।

“कांग्रेस र हामी मुख्य प्रतिस्पर्धी दल पनि हौँ । लोकतन्त्रका ‘स्टेक होल्डर’ पनि हौँ”, उहाँले भन्नुभयो, “प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौँ । हामीबीच सहकार्य आवश्यक छ ।”उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि निजी क्षेत्रमा आशा बढेको र रोकिएका विकासका काम अगाडि बढेको बताए ।

उपमहासचिव ज्ञवालीले संविधान समयअनुसार लचिलो बनाउन परिमार्जन आवश्यक रहेको बताए । उनले सबै वामपन्थी दलबीच एकता हुनुपर्नेमा जोड दिए। एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा प्रतिस्पर्धा हुनुपर्ने बताए ।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले न्यायालयप्रति जनविश्वास बढाउनेतर्फ हरेक पार्टी कार्यकर्ताले काम गर्नुपर्ने धारणा व्यक्त गरे।

सङ्गठनका अध्यक्ष भोजराज आचार्यले पार्टीलाई कानुनसम्बन्धी सहयोग सङ्गठनबाट उपलब्ध हुँदै आएको बताए। सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ ।