राजनीति

नागरिकलाई सहज र सुरक्षित यातायात सेवा उपलब्ध गराउनु पर्छ : सभापति देउवा

१ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन समारोहमा सभापति देउवाले व्यावसायिक हक–हितको संरक्षणसँगै आम नागरिकलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउनु साझा दायित्व भएको उल्लेख गरे ।

दुर्घटना न्यूनीकरणको दिशा र सुरक्षित यात्राको सुनिश्चितताका लागि यातायात व्यवसायीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । “कठिन भौगोलिक अवस्थाका कारण देशका विभिन्न स्थानमा यातायातका साधन सञ्चालन गर्न जटिलता रहँदै आएको छ, पछिल्लो समय दिनहुँजसो भइरहेका सवारी दुर्घटनाले आम नागरिकको जीवन र सुरक्षामा गम्भीर चुनौती खडा गरेको छ, कांग्रेसले यी समस्यालाई गम्भीरतापूर्वक लिएको छ,” सभापति देउवाले भने ।

यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ लोकतान्त्रिक यातायात व्यवसायी सङ्घमा आबद्ध व्यक्तिको एकताबद्ध प्रयास र सहकार्य आवश्यक हुने उनले बताए। “लोकतान्त्रिक मूल्य मान्यतामा आस्थावान् यातायात व्यवसायीको हक हितका लागि कांग्रेसको सदैव साथ रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु”, सभापति देउवाले भने।

कांग्रेस महामन्त्री गगनकुमार थापाले विभागहरुको काम पार्टीको क्रियाशीलतासँगै त्यस क्षेत्रमा रहेका समस्याबारेमा पैरवी गर्ने रहेको उल्लेख गर्दै पार्टीको विज्ञ संस्थाका रुपमा विभिन्न विभागले काम गर्नुपर्नेमा जोड दिए।

“सार्वजनिक यातायात लोकतन्त्रको महत्वपूर्ण पक्ष हो, सार्वजनिक यातायातको क्षेत्र प्रभावकारी, सुरक्षित र बलियो हुँदा लोकतन्त्र बलियो हुन्छ, काठमाडौँको ट्राफिक जामले वार्षिक रु ४० अर्ब खेर गएको छ, यहाँको सार्वजनिक यातायात बलियो र प्रभावकारी भए यी सबै समस्या समाधान हुन्छन्, हाम्रो सार्वजनिक यातायात अत्यन्तै चुनौतीपूर्ण छ,” उनले भने ।

धेरै जसो देशमा सार्वजनिक क्षेत्रमा साझेदारी लगानी भएकाले सफल हुँदै गएको उल्लेख गर्दै हाम्रो देशमा पनि सार्वजनिक क्षेत्रमा एकल निजी लगानीलाई भन्दा साझेदारी लगानीलाई प्रोत्साहित गरेर व्यवस्थापन गर्न जोड दिनुपर्नेमा ध्यानाकर्षण गराए । महामन्त्री थापाले बन्दकोठामा हुने नीतिगत छलफललाई बढी प्रभावकारी बनाएर उपभोक्ता मैत्री बनाउन कानुन बनाउन लागिपर्ने उल्लेख गर्दै विभागलाई सुझाव दिन आग्रह गरे । उनले नाफामा केन्द्रित हुने निजी क्षेत्रको चरित्र अनिवार्य भएको भन्दै यातायात क्षेत्रलाई नाफामुखीभन्दा सेवामुखी, प्रविधिमैत्री र व्यवस्थित बनाउन थप काम गर्न पार्टी तत्पर रहने बताए । उनले सौहार्द्रपूर्ण तरिकाले सङ्घको नेतृत्व चयन भएकामा खुसी व्यक्त गरे ।

पार्टी केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले यातायात क्षेत्रमा विगतमा आफूले विभिन्न अवरोध झेल्दै नेतृत्वदायी भूमिका खेलेको जिकिर गर्दै सबै किसिमको व्यवस्थापन गरी व्यवस्थित प्रबन्धका साथ यातायात व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उनले यातायात क्षेत्रमा नेपालीको ठूलो लगानी रहेको र नेपाल सरकारलाई कर तिर्ने महत्वपूर्ण क्षेत्र यातायात क्षेत्र भएको बताए ।