राजनीति

अमर्यादित पोशाक लगाउने रास्वपा सांसदहरूलाई सदनबाट निष्कासन गर्नुपर्छ: काँग्रेस प्रमुख सचेतक घिमिरे

३ असार, काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले  अमर्यादित पोशाक लगाउने रास्वपा सांसदहरूलाई सदनबाट निष्कासन गर्न माग गरेका छन् ।  उनले अमर्यादित पोसाक लगाउन नपाइने संसद्को नियमावलीमा स्पष्ट उल्लेख भए पनि निलो पोसाक भिरेर आएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएर  निष्कासन समेत गर्नु पर्ने बताएका हुन् ।

उनले भने,” संसद् सचिवालयको नियमावली ३० मा बैठकमा अभद्र व्यवहार गर्ने आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने, चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्तै नियन्त्रण गर्नुपर्नेछ भन्ने व्यवस्था गरिएको छ। साथै, बैठक कक्षबाट निष्कासनसमेत गर्न सकिने व्यवस्था नियमको ३१ अनुसार छ।”

घिमिरेले यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, भोलि जथाभाबी ड्रेस लगाएर आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने? भन्दै प्रश्न गरेका थिए । रास्वपाका सांसदहरू निलो रिबन गलामा भिरेर संसद्‌ बैठकमा सहभागी भएका थिए ।