४ असार, काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार र सभामुखबाट प्रतिनिधिसभाको बैठक अवरोधका बाबजुद बलजफती सञ्चालन गर्ने कोसिस भइरहेको आरोप लगाएका छन्। उनले आज सामाजिक सञ्जाल एक्स मार्फत यस्तो बताएका हुन्।
पूर्व गृहमन्त्री समेत रहेका श्रेष्ठले सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न आग्रह गरेका छन्। उनले लेखेका छन्,” सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरूको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफती सञ्चालन गर्ने कोसिस भइरहेको छ । यद्यपि अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन ।सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। “
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सबैलाई समेटेर सौहार्दपूर्ण वातावरण बनाएर सदन सुचारु गर्दै सङ्घीय निजामती ऐन र विद्यालय शिक्षा ऐनलाई पास गराउनु पर्नेमा समेत जोड दिएका हुन्। उनले अघि लेखेका छन्,”त्यस प्रकारले सदन सुचारु गरेर सङ्घीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन अनुरोध गर्दछु ।”
