४ असार, काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको युवा वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वैज्ञानिक अनुसन्धान र प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यको स्पष्ट नीति, पर्याप्त लगानी, सहकार्य प्रणाली र पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए।
“वैज्ञानिक अनुसन्धान तथा आविष्कारका क्षेत्रमा नेपालले अन्तरराष्ट्रियस्तरमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिरहेको छैन, अनुसन्धान अनुकूल संरचना र पूर्वाधारको अभाव, सरकारी लगानीको न्यूनता र नवप्रवर्तनलाई व्यवसायमा रूपान्तरण गर्ने प्रणालीको अभाग रहेकाले ती समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्छ”, उनले भने। उनले युवामा रहेका सिर्जनशील योजना, सीप र क्षमतालाई प्रयोग गरी राष्ट्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिए ।
“युवाहरू विदेशपलायन हुनुपर्ने अवस्था न्यूनीकरण गर्न देशभित्र भरोसा र अवसर निर्माण गर्नुपर्ने आवश्यकता छ, यस्ता खालका महत्त्वपूर्ण सम्मेलनले युवामा आशा र सम्भावनाको नयाँ आधार खडा गर्नेछ । विज्ञान प्रविधिमा नेपाल अझै पछाडि रहेको अवस्थामा अनुसन्धानका पूर्वाधार, सरकारी तथा निजी लगानी, विश्वविद्यालय र प्रयोगशालाबीच समन्वय, नवप्रवर्तनको व्यवसायीकरण गर्न नीतिगत प्रोत्साहनलगायत पक्षमा सुधार गर्नुपर्ने हुन्छ”, उनले भने।
अध्यक्ष दाहालले अनुसन्धान अनुदान, नवप्रवर्तन कोष, प्राविधिक शिक्षाको सुदृढीकरण तथा बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका लागि स्पष्ट संरचना निर्माण गर्न जोड दिए । “विज्ञान तथा प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यले नीति निर्माण, पूर्वाधार विकास, जनशक्ति उत्पादन र अनुसन्धान प्रवर्द्धनलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने देखिन्छ, सङ्घीय संसद्ले प्रविधिको विकासमा दृष्टिगत गर्दै विभिन्न विधेयकहरू निर्माण गरिरहेको छ”, उनले भने । उनले विज्ञान प्रविधिसँग सम्बन्धित कानुनहरू युवामैत्री बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।