हरि भण्डारी/ भर्खरै जन्मिएको र अपेक्षाकृत नयाँ राजनीतिक शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठाएको भिजिट भिसा प्रकरणको विषय अहिलेको नेपाली राजनीतिको केन्द्रमा छ। भिजिट भिसाको नाममा व्यापक दुरुपयोग, प्रत्यक्ष रूपमा गृह मन्त्रालयमार्फत भएको अनियमितता, र शक्तिकेन्द्रसँग जोडिएका ठुला नामहरूको संलग्नता यी सबैले गर्दा यो विषय सामान्य प्रशासनिक गल्ती मात्र नभई संस्थागत भ्रष्टाचारको उदाहरण बनेको छ।
यही घटनालाई लिएर रास्वपाले संसद् अवरुद्ध गर्यो। गृहमन्त्रीको राजीनामा माग गर्यो। राजनीतिक दबाब सिर्जना गर्यो। यसले आम जनमानसमा एउटा सन्देश दियो अब कोही त छ, जो सत्ता र सत्ताका संरक्षकलाई प्रश्न गर्न सक्दछ। तर, यहीँबाट सुरु हुन्छ एउटा पुरानो शक्तिको मौनता। सर्वसाधारणले जसबाट सधैँ प्रतिरोध, क्रान्ति र परिवर्तनको अपेक्षा राखेका थिए त्यो माओवादी पार्टी, जुन सुरुमा संसद् अवरोधमा रास्वपा सँगै उभियो तर ,अचानक बिच बाटोमै साथ छोड्यो।
माओवादीको कहाँ हरायो जनपक्षधर चरित्र? माओवादी पार्टीको जन्म नै अन्यायविरुद्ध सङ्घर्षबाट भएको हो। सशस्त्र युद्धदेखि लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा गर्दै आएको पार्टीको पहिचान बलिदान, जनताको आवाज, र सिस्टमसँग लड्ने साहसमै टेकेको थियो। तर भिजिट भिसा प्रकरणजस्तो स्पष्ट अनियमितताको मुद्दामा माओवादीको पछिल्लो हिचकिचाहटले एउटा स्पष्ट सन्देश दिएको छ की अब माओवादी पनि सत्ता सन्तुलनको खेलमै रमाइरहेको छ।
यदि रास्वपा संसद् अवरुद्ध गर्न सक्दछ भने, माओवादी जस्तो शक्ति, जसले संसदै ध्वस्त पार्ने ऐतिहासिक पृष्ठभूमि बोकेको छ। किन पछि हट्यो? किन गृहमन्त्रीको राजीनामा माग्न सकिन? किन ‘जनता’लाई होइन, ‘सत्ता’लाई रोजियो? सत्ता टिकाउने कि सिद्धान्त? यस्ता अनेकौँ प्रश्नले घेरिएको छ माओवादी। यो कुनै सामान्य राजनीतिक सम्झौताभित्रको रणनीति मात्र हो भन्ने बहाना बनाउनु सजिलो होला। तर माओवादी नेतृत्वले बुझ्न जरुरी छ प्रत्येक सम्झौता जनताको आँखामा एउटा सन्देश दिन्छ। र त्यो सन्देश अहिले यस्तो गइरहेको छ की माओवादी पनि एमाले र काँग्रेसकै अर्को संस्करण हो।
गृहमन्त्रीको राजीनामा माग्ने मुद्दामा रास्वपाले नेतृत्व गर्यो, माओवादी पछाडि हट्यो। हिजो जसले ‘जनयुद्ध’को नाममा राज्यको ढोका हल्लाएको थियो। आज उसले गृहमन्त्रीलाई जोगाउने ‘ब्याकअप पार्टी’ बन्ने बाटो रोज्यो।
पुराना विरुद्ध नयाँको सङ्घर्ष यो परिघटना केवल भिजिट भिसा मात्रको विषय होइन। यो पुराना र नयाँ राजनीतिक संस्कृतिको सङ्घर्ष पनि हो।
रास्वपा स्वच्छता, जबाफदेही नेतृत्व र स्पष्ट संवादमार्फत जनतामाझ नजिकिँदै छ। त्यही बेला माओवादी, जसको राजनीतिक पुँजी नै जनभावनामा आधारित थियो, तर अहिले त्यो पुँजी गुमाउने दिशामा अगाडि बढिरहेको छ।
जनताले तुलना गर्न थालेका छन्। रास्वपा नयाँ हो तर बोल्छ। माओवादी पुरानो तर अब मौन छ। समय अझै छ, तर धेरै छैन, यो माओवादीले आत्म समीक्षा गर्न जरुरी छ। जनताको पक्षमा स्पष्ट उभिनु, मुद्दालाई नैतिकताका आधारमा हेर्न सक्नुपर्छ। सत्ता टिकाउने रणनीति पनि कहिलेकाहीँ उपयुक्त हुन सक्छ,तर जनताको आँखामा विश्वास टिकाउने रणनीति सधैँ पहिलो आवश्यक हुन्छ।
हिजो गृहमन्त्रीको राजीनामा माग्दा माओवादीलाई “हाइ हाइ” गरिन्थ्यो। आज त्यही मुद्दाबाट पन्छिँदा “हाय हाय” भन्न थालिएको छ।माओवादीले निर्णय गर्नै पर्छ सत्ता रोज्ने कि सिद्धान्त?एमाले काँग्रेस बन्ने कि जनताको माओवादी रहने?