राजनीति

संसदमा आफ्ना सांसदहरूले खेलेको भूमिका प्रशंसनीय छ, अझैँ सशक्त रूपमा प्रस्तुत हुन्छौँ: रास्वपा

५ असार, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा काण्डमा संसदमा सांसदहरूले खेलेको भूमिका प्रशंसनीय रहेको ठहर गरेको छ। आज कार्यबाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको बताएका हुन् । 

रास्वपाको बुधवार बसेको सचिवालय बैठकले असार ७ गते आन्दोलनकै रूपमा पार्टी स्थापना दिवस पनि मनाउने निर्णय गरेको छ। ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने रास्वपाले निर्णय  गरेको छ। 

बैठक विभिन्न विभागमा जिम्मेवारी हेरफेर समेत गरेको छ। सचिवालयको बैठकले स्थापना दिवसका दिन बिहान पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्नेलगायत विभिन्न्न नौ बुँदे निर्णय गरेको छ । पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दाको वर्तमान अवस्था र ‘भिजिट भिसा’ प्रकरणमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।

बैठकले रास्वपाको केन्द्रीय विभागमा मनोनयन तथा जिम्मेवारी हेरफेर गर्ने निर्णयसमेत गरेको छ । नीति तथा विचार विभागको प्रमुखमा डा स्वर्णिम वाग्ले र उपप्रमुखको जिम्मेवारी सन्तोष परियारलाई तोकिएको छ । सचिवालयको बैठकले अभियान तथा प्रचारप्रसार विभागका प्रमुखमा मनिष झा, कृषि विभागका प्रमुखमा राजन गौतम र ऊर्जा तथा जलस्रोत विभागको संयोजकको जिम्मेवारी राम न्यौपानेलाई तोकेको छ । रास्वपाले विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने भन्दै ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय गरेको छ । पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशन केन्द्रित सङ्गठन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।