समाचार

प्रधानमन्त्रीद्वारा ग्वार्को ओभरपासको उद्घाटन, एसएसपी अधिकारीले काटे रिबन

६ असार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गरेका छन्। उद्घाटनसँगै उपत्यकाको चक्रपथ सडकअन्तर्गतको ओभरपास विधिवत् रूपमा  सञ्चालनमा आएको हो। 

प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका हुन् । यस ओभरपास सञ्चालन पछि ग्वार्को क्षेत्रमा हुने  ट्राफिक जामको सास्ती केही कम हुने अपेक्षा गरिएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहु प्रतीक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो।

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुने गरी २०७८ फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। यसरी २०८० फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो। तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुने गरी फेरि दोस्रो पटक म्याद थप भएको थियो।