६ असार, काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तरराष्ट्रिय शृङ्खलाको निर्णायक खेलमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई जितको लागि एक सय ९४ रनको लक्ष्य दिएको छ ।
स्कटल्याण्डको टिटउट रङ्गशालामा टस जितेर पहिला ब्याटिङको निर्णय गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९३ रनको योगफल बनाएको हो ।
स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारी खेले । उनले ३९ बलमा पाँच चौका र छ छक्कासहित सर्वाधिक ७८ रन बनाए । त्यस्तै ब्रेन्डन म्याकमुलनले ३० बलमा चार चौका र एक छक्कासहित ४२ रनको योगदान गरे । यसबाहेक अलराउन्डर माइकल लिस्कले २६ र विकेटकिपर म्याथिउ क्रसले १७ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान एक–एक विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।