समाचार

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिन्छ: अर्थमन्त्री यादव

७ असार, सिरहा। मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट सुरू गर्ने भएको छ । मधेस प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले शुक्रबार लहान नगरपालिकाको १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री यादवले लहानको उत्तरी भेगमा रहेको धार्मिक र पर्यटकीय महत्वको काब्रे महादेव क्षेत्रलाई कोशी प्रदेशको उदयपुर जिल्लासँग जोड्ने सडक निर्माणको योजना अघि बढाउने स्पष्ट पारे । “अन्तरप्रदेशीय आवागमन सहज बनाएर व्यापार–व्यवसायलाई प्रवद्र्धनका साथै पर्यटनको विकास गर्ने मुख्य उद्देश्य हो”, मन्त्री यादवले भने ।

मन्त्री यादवका अनुसार सडक पूर्वाधारले मधेस प्रदेशको आर्थिक अवस्था मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । “धार्मिक पर्यटनसँगै स्थानीय उत्पादन बजारसम्म पु¥याउन मार्ग सहयोगी हुनेछ”, उनले थपे ।

त्यस्तै, लहान नगरपालिकाले प्रस्तुत गरेको आव २०८३/८३ को बजेटको प्रशंसा गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रमा ल्याइएका योजनालाई सफल बनाउन प्रदेश सरकारले साथ दिने आश्वासन दिए ।

त्यसैगरी, लहानको खुट्टी नहर पुनःसञ्चालनका लागि मधेस प्रदेश सरकारले बजेट समावेश नगरेको भन्दै आलेचनाकाबीच मन्त्री यादवले रकमान्तर गरेर भए पनि आवश्यक रकम व्यवस्थापन गरिने बताए । “किसानको मागलाई बेवास्ता गरिन्न”, उनले भने।

जिल्लाको सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ ।