समाचार

बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय

७ असार, जलेश्वर। पुरुष प्रधान हाम्रो समाजमा प्रत्येक योजना तथा भौतिक निर्माणका काममा पुरुषमात्रै सहभागी भइरहेका बेला महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा सञ्चालित एक योजनामा महिलामात्रै सहभागी भएर निर्माण अगाडि बढाएका छन् ।

जिल्लाकै सुदूर उत्तरवर्ती चुरेको काँछमा रहेको बर्दिवास नगरपालिका–११ खयरमारा गाउँमा महिलामात्रै सहभागी भएर योजना सञ्चालन गरिरहेको पाइएको छ । महिला पनि पुरुषभन्दा कम छैनन् र महिलाले चाहे जे पनि गर्न सक्छन् भन्ने उदाहरण दिँदै त्यहाँका महिला आफ्नो बस्तीलाई भू–स्खलनबाट जोगाउन पर्खाल निर्माणमा जुटेका छन् ।

मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ५० लाख ५२ हजार ९२२ रुपैयाँ ३७ पैसाको लागतमा महिलाले खयरमारा गाउँको ‘बाँके खोलादेखि बढुवा खोल्सीसम्मको सडकको दक्षिणपट्टी मेसिनरी वाल निर्माण’ गरिरहेका छन् ।

दुई सय ७० मिटर लम्बाइ र विभिन्न ठाउँमा १६०÷१७० सेन्टिमिटर बेसदेखि १९० सेन्टिमिटरको बेस र ७०÷८० सेन्टिमिटर ‘टप फिनिस पर्खाल’ निर्माणमा स्थानीय महिला जोरसोरले लागेका छन् ।

यस योजनाको उपभोक्ता समितिमा सात जना महिला नै छन् भने यस योजना निर्माणमा संलग्न डकर्मी, सिकर्मी र कामदार पनि महिला नै रहेका छन् । २७ जना महिलाको समूहमा कोही ढुङ्गा बोक्ने, कोही बालुवा ल्याउने, कोही सिमेन्ट ल्याउने, कोहीले मसला तयार गर्ने र केहीले पर्खाल निर्माणमा मिस्त्री (सिकर्मी, डकर्मी) को काम गरिरहेका छन् ।

योजनाका कोषाध्यक्ष अनुराधा मगरातीले यहाँका पुरुषले पनि यत्रो ठूलो योजना महिला मात्रैले पूरा गर्न सक्दैनन् आफूहरूलाई होच्याइरहेकामा अहिले पूरा गाउँ ले आफूहरूको सराहना गरेका बताईन ।

त्यसैगरी, योजनाका सचिव तिला दाहालले यस योजना निर्माणले हामी महिलाको हौसला बढाएको र आफूहरू अब पुरुषसरह नै कुनै पनि योजना पूरा गरेर देश विकासमा टेवा पुर्याउनसक्ने दाबी गरिन् ।

आफ्नो बस्तीको सडक र बस्तीलाई जोगाउन स्थानीय महिलाहरू मात्रै सहभागी भएर गरिरहेका यत्रो ठूलो भौतिक निर्माण सफलता पूर्वक सम्पन्न हुन आँटेको देखेर स्थानीय नेपाली काँग्रेसका नेता पोषण थापाले यस्तो उपभोक्ता समिति र यस्तो काम मधेश प्रदेशमै पहिलो रहेको बताए।

त्यस्तै, बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले खयरमाराका महिलाले गरिरहेको भौतिक निर्माणको प्रशंसा गरे ।

उपभोक्ता समितिका अध्यक्ष अनिता सुवेदीले पुरुषले सञ्चालन गरेको योजनामा अनियमितता हुने, कामचोरी हुने र तोकिएको काम नहुने बताउँदै आफूहरू महिला मात्रै सहभागी भएर सञ्चालन गरेको यस योजनाले नमुना काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले आगामी पाँच दिनभित्र योजना सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।