७ असार, काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सामाजिक तथा राजनीतिक आन्दोलनकी अगुवा मङ्गलादेवी सिंहको सम्झनामा खेलकुद प्रतियोगिता आयोजना हुनु महत्त्वको विषय भएको बताएका छन् ।
काठमाडौँमा आज नेसनल किक बक्सिङ एसोसिएसनद्वारा आयोजित तेस्रो मङ्गलादेवी स्मृति किक बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले मङ्गलादेवीको नाममा खेलकुद आयोजना हुनु खेल जगतका लागि महत्त्वपूर्ण उपलब्धि भएको धारणा राखे ।
मन्त्री सिंहले भने, “जसले खेल खेल्नका लागि अधिकार दिएको छ, बोल्ने अधिकारका लागि सङ्घर्ष गरेको छ, सङ्गठन गर्न नपाउने अवस्थामा सङ्गठन गर्नुपर्छ भन्ने आवश्यकता बोध गराई सङ्गठित रूपमा महिलाको आवाज अघि बढाउने काममा सक्रिय छ । सामाजिक र राजनीतिक आन्दोलन गर्नुभएको छ उहाँ (मङ्गलादेवी)को नाममा प्रतियोगिता भएकाले यसको महत्त्व बढेको छ । सबै खेडालीलाई सफलताको शुभकामना छ ।”
उपप्रधानमन्त्री सिंहले आज प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेत्री मङ्गलादेवी सिंहको सम्झनामा यो कार्यक्रम हुनु खेलप्रेमी, समाज रुपान्तरमा सङ्घर्ष गर्ने सबैका लागि महत्त्वको विषय भएको बताए । उनले राणाकालमा महिलाको आवाज सङ्गठित रूपमा अघि बढाउनुपर्छ भनेर महिलालाई समेटेर नेपाल महिला सङ्घ मङ्गलादेवीको अध्यक्षतामा गठन भएको उहाँले स्मरणसमेत गरे।
राणाको समयमा महिलालाई मतदानको अधिकार पुरुषसरह हुनुपर्छ, भनेर उनले अभियान चलाउनुभएको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले समाजमा अघि बढाउन छोराले मात्रै होइन छोरीहरूले पनि पढ्न पाउनुपर्छ भनेर सामाजिक र राजनीतिक अभियान चलाएकाले उनको योगदान सदैव स्मरणीय रहने बताए।
उनले भने, “राणाको समयमा जुलुस निकालेर महिलाको हकअधिकारका लागि मङ्गलादेवीले ठूलो योगदान गर्नुभएको छ । उहाँकै सम्झनामा यो प्रतियोगिता हरेक वर्ष भइरहेको छ । यो खेल प्रेमीका साथै सबैका लागि गर्वको विषय हो, यही स्थितिमा खेलाडीहरूले खेलेको देखेको छु र खेलको नियमअनुसार खेल्नुभएको छ । प्रतिस्पर्धामा क्षमता प्रदर्शन गर्न सक्ने भएकाले यो प्रतियोगिताले भविष्यको खेल जगतमा उच्च प्रदर्शन गर्न र खेलाडी उत्पदान गर्ने अवसर दिएको छ ।”