समाचार

एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध काम गरेका छौँ: मेयर महर्जन

९ असार, काठमाडौं। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध रुपमा काम गरेको बताएका छन् । पन्ध्रौँ अन्तराष्ट्रिय एकल महिला दिवसका अवसरमा मानवअधिकारका लागि महिला एकल महिला समूहद्वारा आज ललितपुरमा आयोजित समारोहमा मन्तव्य राख्दै महानगर प्रमुख महर्जनले एकल महिलाले धेरै पीडा भोग्नुपरेको कुराका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै आफ्नो पहिलो कार्यकालदेखि नै सहकार्य गरेर काम गर्दै आएको बताए ।

“कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध कायम ग¥यौँ, कोरियाको कृषिको राम्रो काम हामीले भित्र्याउन प्रयास गरियो, त्यसको सुरुआत सुनाकोठीको छहारी एकल महिला समूहलाई सहयोग गरेर काम गरिरहेका छौँ, महानगरभित्रका हरेक एकल महिला समूहसँग राम्रोसँग सहकार्य गरेर काम गरिरहेका छौँ, भविष्यमा पनि गर्छौं”, उनले भने । महानगरप्रमुख महर्जनले ललितपुरले सामाजिक क्षेत्रमा राम्रो काम गरिरहेको छ भन्दै त्यसमा एकल महिलाको हितका लागि गरिएको काम पनि महत्वपूर्ण कार्यका रुपमा रहेको बताए ।

युएन वुमनका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेनले एकल महिलाको न्यूनतम आवश्यकता परिपूर्ति, स्वाभिमानको प्रत्याभूतिहरुका लागि ध्यान दिनुपर्ने र उनीहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले सक्षम बन्न र आर्थिक सशक्तिकरणका लागि एकल महिलाको सङ्घर्ष अझै बाँकी रहेको धारणा राखे ।