१० असार, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भिजिट भिसा प्रकरणमा सरकारले बनाएको समिति स्वीकार्य नहुने बताएको छ। नेपाल सरकारका शंकरदास वैरागीको नेतृत्वमा बनेको समिति स्वीकार नहुने रास्वपा उपसभापति स्वर्णिम वाग्लेले बताए।
गृहमन्त्री रमेश लेखकको सम्बोधन पछि संसद्मा बोल्दै वाग्लेले सरकारको निगाहमा बनेको वैरागी नेतृत्वको समिति स्वीकार नहुने बताएका हुन्। संसद्मा सम्बोधन गर्दै गृहमन्त्री लेखकले दुई बुँदे सहमति अनुसार छानबिन समिति गठन भएको बताएका थिए।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि उक्त समिति अमान्य हुने बताएको छ। राप्रपा मुख्य सचेतक ज्ञान बहादुर शाहीले आफ्नो पार्टीलाई समितिमा सरकारले आफ्नै मान्छे राखेर ल्याएको भन्दै स्वीकार नहुने बताएका हुन्।
गृहमन्त्री लेखकले आफ्नो पहलमा अध्यागमन र भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई असर नपार्ने गरी नेपाल सरकारमा पूर्व मुख्य सचिव वैरागीको नेतृत्वमा उच्चस्तरीय समिति गठन भएको बताएका थिए।