समाचार

नेपालमा ११ प्रतिशत बेरोजगार छन्: श्रममन्त्री भण्डारी

१० असार, काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले देशको ११.६ प्रतिशत व्यक्तिहरू बेरोजगार रहेको दाबी गरेका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्।

मन्त्री भण्डारीले जनसंख्याको ठूलो हिस्सा बेरोजगारीको अवस्थामा रहेको हालको परिप्रेक्ष्यमा तदुनुरुपको रोजगारी मुलुकभित्रै सिर्जना गर्न थप चुनौती र चिन्ताको विषय बनेको बताए। उनले नेपालभित्रै रोजगारीको उपयुक्त अवसर नभएको साथै रोजगारीमा समेत सीप र ज्ञानको अभावमा भएको बताएका हुन्।

सांसदहरुले उठाएको प्रश्नको जवाफा दिंदै मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा युवाको आकर्षणलाई मुलुकभित्रैको रोजगारीमा संलग्न गराउनु मुख्य चुनौती रहेको धारणा राखे।

उनले बेरोजगार दर कम गर्न आगामी १० वर्षका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियान सञ्चालन गर्ने मन्त्रालयले निर्णय गरेको जानकारी दिए।