समाचार

सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

१० असार, काठमाडौं। सुरक्षासम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबिसिजिएसआई) को सोह्रौँ बैठक असार ९–१० गते भारतको पुणेमा सम्पन्न भएको छ ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकार विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) गेहेन्द्र राजभण्डारीले गरेका थिए।

प्रतिनिधिमण्डलमा सम्बन्धित परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरूका साथै भारतीय सेना र नेपाली सेनाका निर्देशनालयका पदाधिकारीहरू सहभागी रheको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

बैठकमा दुवै पक्षले सुरक्षा र रक्षा सहकार्यसँग सम्बन्धित विविध विषयहरू उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् राहत कार्य र सैन्य आदानप्रदानबारे फलदायी छलफल गरेका थिय । यसका साथै प्रतिनिधिमण्डलले पारस्परिक रूपमा लाभदायक सहकार्यका सम्भावनाहरू खोज्न प्रमुख सार्वजनिक र निजी रक्षा क्षेत्रका उत्पादन स्थलहरूको पनि भ्रमण गरेको थियो ।

सन् २००३ मा स्थापित आईएनबिसिजिएसआई भारत र नेपालबीच द्विपक्षीय रक्षा र सुरक्षा सहकार्यलाई समन्वय गर्ने एक छाता संस्थागत संयन्त्र हो ।