आर्थिक

हुलाक सेवालाई विश्वसनीय र दु्रत बनाउन सके राजस्व बढ्छः सञ्चारमन्त्री गुरुङ

११ असार, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई विश्वसनीय, भरपर्दो र दु्रत बनाउन सके राजस्व बढाउन सकिने धारणा व्यक्त गरेका छन्।

हुलाक सेवा विभागले आज आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षासम्बन्धी अन्तरक्रियामा मन्त्री गुरुङले आधुनिक र स्मार्ट हुलाक बनाउन नयाँ ऐनको आवश्यकता औँल्याए । “हुलाकलाई आधुनिक बनाउन मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको छ, आधुनिक हुलाक निर्माणका लागि नीति निर्माण अन्तिम चरणमा छ”, उनले भने ।

उनले कर्मचारीको क्षमता वृद्धिमा पनि सुझाव दिनुभयो । “हामी यसै वर्ष हुलाक ऐन ल्याउछौँ, स्थानीय हुलाक संरचनालाई अझै प्रभावकारी बनाउने योजनाका साथ काम भइरहेको छ, यसका लागि कर्मचारीहरुको भरपुर सहयोग र साथ चाहिन्छ”, उनले भने । मन्त्री गुरुङले यस वर्षभित्र स्थानीय तहका हुलाक कार्यालयमा कम्तीमा एउटा मोटरबाइक उपलब्ध गराउने समेत उल्लेख गरे । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट हुलाका लागि पर्याप्त बजेट विनियोजन नभए पनि आवश्यकताका आधारमा बजेट थप गर्न र अन्य स्रोत जुटाउन आफूले सक्दो प्रयास गरेको उनको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालय हुलाक सेवाको वृद्धि र विकासका लागि सधै सकारात्मक रहेको बताउदै हुलाकलाई इकर्मशमा जोड्ने प्रयत्न रहेको बताए । हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवालाई जनताको घरदैलोसम्म पु¥याउन स्थानीय तहसँग सहकार्य गर्दै आएको बताए ।