ब्रेकिङ न्युज

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्णः उपप्रधानमन्त्री सिंह

११ असार, काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा आज आयोजित कार्यक्रममा उनले अर्थतन्त्रको विकासमा महिलाको भूमिका महत्त्वपूर्ण हुने बताए ।

उनले आधुनिक प्रविधिको प्रयोग गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री सिंहले नेपालको महिला आन्दोलनकी शीर्ष नेत्री मङ्गलादेवी सिंहले महिलालाई मताधिकारसँगै शिक्षा र सम्पत्तिको हक, नीतिगत तहमा सहभागिताको सुनिश्चिततासँगै महिलाको आर्थिक अधिकारका लागि आवाज उठाएको स्मरण गरे ।

“देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको योगदान महत्त्वपूर्ण छ”, उपप्रधानमन्त्री सिंहले भने । काठमाडौँ महानगरपालिका–१० बानेश्वरका स्थानीय महिलाको सीप विकास र आयआर्जन वृद्धिका लागि मङ्गलादेवी सिंह फाउन्डेसनले प्रदान गरेको १० दिने अचार बनाउने तालिम का सहभागीलाई उनले प्रमाणपत्र वितरण गर्दै सिकेको सीपबाट आयआर्जनका लागि शुभकामना पनि दिए ।

कार्यक्रममा मङ्गलादेवी सिंह फाउण्डेसनकी अध्यक्ष सिर्जना सिंहले फाउन्डेसनले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका लागि विभिन्न स्थानमा सीपमूलक तालिम सञ्चालन भइरहेको जानकारी दिए । उनले उत्पादनसँगै त्यसको बजारीकरणका लागि पनि सहभागीले तालिमको माग गरेको भन्दै त्यसका लागि फाउन्डेसनले कार्यक्रम ल्याउने बताए ।