१२ असार, काठमाडौं। कारागार कार्यालय चितवनमा तयार गरिएका मुढाले बजार नपाएपछि उत्पादन बन्द गरिएको छ । यहाँ दैनिक रुपमा उत्पादन हुँदै आएको मुढा बजारमा बिक्री नहुँदा उत्पादन बन्द गरिएको हो ।
विगत लामो समयदेखि कैद सजाय भोगीरहेका पदमबहादुरले मुढा बुन्ने काम गर्दै आएका थिए । उनले अहिले मुढा बिक्री हुन छोडेपछि फुर्सदिलो बन्न् भएको हो । कैदीबन्दीका लागि जीवनयापनमा सहज बनाएको यस व्यवसाय बन्द भएपछि दिन काट्नसमेत कठिन हुने गरेको उनले बताए ।
यो काममा दैनिक ९० देखि १०० जनासम्म लाग्ने भए पनि विगत १५ दिनदेखि काम रोकिएको उनले बताए । उनले भने, “पहिला उत्पादन भएको मुढा अहिलेसम्म बजारमा जान सकेको छैन । अरु उत्पादन गरेर के गर्ने ?” अहिले कारागारमा मागअनुसार मुढा बुन्ने काम गरिएको उनले जानकारी दिए ।
यहाँ उत्पादित मुढा चितवनसहित, कास्की, रुपन्देही, काठमाडौँ, मकवानपुर, नवलपरासीलगायत जिल्लामा बिक्री हुने गरेकामा अहिले कममात्रामा बिक्री हुँदा निर्माण रोकिएको कारागार कार्यालयले जनाएको छ ।
कारागारमा उत्पादित मुढालाई बजार व्यवस्थापनको काम गर्दै आएका प्रेमप्रसाद सुवेदीले गत माघदेखि बजार पाउन कठिन हुँदै आएको बताए। अहिले गोदाममा एक हजार ५०० लोकल र स्पेशल ४०० बढी मुढा रहेका छन् । उनले भने, “पहिलापहिला एक महिनामा एक हजार ५०० हाराहारी मुढा बिक्री हुन्थ्यो । अहिले ४०० मुढा बिक्री हुन पनि कठिन छ ।” मुढाको बजार विस्तारसँगै सबै कारागारमा यस्ता उद्यम सञ्चालन हुँदा पनि बजार साँघुरिँदै गएको हुनसक्ने उनले बताए ।
कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले यहाँ उत्पादित मुढाले बजार नपाउँदा कैदी वन्दीलाई दिन बिताउन कठिन हुने गरेको बताए । दिनभरि काम गरेर बस्ने बानी परेकालाई दिन बिताउन मुस्किल हुने उहाँको भनाइ छ । यहाँका मुढाको बजारीकरणमा कारागार प्रशासनले ध्यान दिँदै आएको उनले बताए। मुढा बुनेर घरखर्च चलाउँदै आएका कैदीबन्दीलाई समस्या हुने उनले उल्लेख गरे।
कारागार कार्यालयमा चितवनमा अहिले ७१० जना कैदीबन्दी रहेका छन् । तीेमध्ये ४२ महिला, ६६८ पुरुष र तीन जना आश्रित बालालिका रहेका छन् । ३५ जना महिला कैदीबन्दी र ४७० जना पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहँदै आएका कारागार कार्यालयले जनाएको छ ।