समाचार

जुनसुकैबेला विपद् आउनसक्छ, प्रतिकार्यका लागि सरकार तयारी अवस्थामा छः गृहमन्त्री लेखक

१२ असार, काठमाडौं। गृहमन्त्री रमेश लेखकले मनसुनको समय भएकोे र जुनसुकैबेला पनि विपद् आउनसक्छ भन्ने आँकलनका साथ सरकार पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले आफ्नो मन्त्रालय मनसुनको समयमा बाढी, पहिरो, डुबान र सडक अवरोध हुनसक्ने सम्भावित विपद्को सुरक्षा निकायमार्फत पूर्वतयारी अवस्थामा रहेको बताए । उद्धारका लागि हेलिकप्टरकोसमेत व्यवस्था गरिएको उनले जानकारी दिए।

मन्त्री लेखकले भने, “यसबाहेक मन्त्रालय मातहत सबै प्रदेशमा रहेका आपत्कालीन मानवीय सहायता केन्द्रलाई विपद् उद्धारलाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । यस्ता केन्द्र स्थानीयस्तरमा विस्तार गर्न स्थानीय सरकारलाई आग्रह गर्दछु ।”

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत ई दिनेशप्रसाद भट्टले विपद्को पूर्वतयारीका बारेमा जानकारी गराउँदै उद्धारमा स्थानीयको सहयोगको ठूलो भूमिका हुने उल्लेख गरे ।

त्यस्तै, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मौसम पूर्वानुमानबारे जानकारी गराउँदै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने बताए । समिति सभापति कुशुमदेवी थापाले विपद् व्यवस्थापन र उद्धारमा गरिएको तयारीकाबारेमा समितिलाई अवगत गराउन र विगतबाट सिकेर थप प्रभावकारिताका साथ लाग्न मन्त्रालयलगायत सरोकारवाला निकायलाई आग्रह गरेकी थिइन् ।

समिति सदस्यहरु वीरबहादुर बलायर, सरस्वती सुब्बा, रुपा शोसी चौधरी, भानुभक्त जोशी, सूर्यप्रसाद ढकाल, अनिशा नेपाली, अशोककुमार चौधरी, सम्झना थपलिया, अमृतलाल राजवंशी र बिजुला रायमाझीले मनसुनबाट हुने विपद्को पूर्वतयारीमा गर्नुपर्ने काम र उद्धारको व्यवस्थाका लागि विभिन्न सुझाव दिएका थिए।