समाचार

प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

१४ असार, काठमाडौं। स्पेन भ्रमणका लागि आज (असार १४, शनिबार) साँझ त्यसतर्फ प्रस्थान गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा प्रतिनिधि सभामा जानकारी गराएका छन्।

आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले स्पेन भ्रमण तालिकाबारे जानकारी दिएका हुन्।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागि हुन म आज साँझ औपचारिक भ्रमणमा जाँदै छु।

मित्र राष्ट्र स्पेनको सेभिया सहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ। संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको समेत सहभागिता हुन्छ।

आज असार १४ गते साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै हाम्रो यात्रा सुरु हुन्छ, स्पेनको राजधानी म्याड्रिडमा असार १५ गते बिहान पुग्ने कार्यक्रम तालिका छ।

मेरो नेतृत्वमा जाने हाम्रो भ्रमण टोलीमा २१ जना सहभागी हुनेछौँ। यो संख्यामा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्कस्थित आवासीय प्रतिनिधि समेत हुनुहुनेछ।

परराष्ट्रमन्त्रालयका सचिव सहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टिमका अतिरिक्त अर्थसचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा हुनुहुन्छ।

प्रधानमन्त्रीको मुख्य सल्लाहकार सहित स्वकीय सचिवालयका आवश्यक व्यक्तिहरुको संलग्नता छ।

भ्रमणको दोस्रो दिन, असार १५ गते दिउँसो करिब ४ बजे भ्रमण टोली स्पेनको सहर सेभियामा पुग्नेछ।

-लगत्तै मेरो, नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ स्पेनका मन्त्रिपरिषद्का महामहिम अध्यक्षसहित विभिन्न व्यक्तित्वहरूको सहभागिता हुने जानकारी गराइएको छ।

-साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) महामहिम श्री पेद्रो साञ्चेजसँग हाम्रो प्रतिनिधि मण्डलको द्विपक्षीय बैठक तय भएको छ ।

-असार १५ गतेको अन्तिम कार्यक्रम, स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरिने रात्री भोज रहेको छ। भ्रमणको तेस्रो दिन असार १६ गतेको कार्य तालिका बाक्लो छ।

-बिहान उद्घाटन सत्रमा सहभागिता हुनेछ।

-अपराह्न गेट्स फाउन्डेसनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा सम्बोधनका लागि हामीलाई आमन्त्रण गरिएको छ।

-दिउँसो १ बजे मित्र राष्ट्र स्तोनियाका महामहिम राष्ट्रपति महामहिम श्री अलार कारिससँग द्विपक्षीय बैठक हुनेछ।

-दिउँसो ३ देखि ४ बजेको बीचमा नेपालका प्रधानमन्त्री एवम् अल्प विकसित राष्ट्रहरु (एलडीसी) को अध्यक्षको हैसियतमा मैले सम्मेलनलाई सम्बोधन गर्नेछु।

-अपराह्न ४:०० देखि ५:१५ को बीचमा निम्नानुसार तिनवटा द्विपक्षीय बैठक हुनेछन्ः

o इजिप्टका प्रधानमन्त्री महामहिम डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षी बैठक

o पोर्चुगलका प्रधानमन्त्री महामहिम श्री लुइ मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक

o संयुक्त राष्ट्रसंघ महासचिव महामहिम श्री अन्तोनियो गुटरेससँगको बैठक

-तेस्रो दिनको अन्तिम कार्यक्रम, स्पेन सरकारका महामहिम अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्री भोज रहेको छ।

चौथो दिन (असार १७ गते)- पहिलो कार्यक्रम, मैले बिहान ८:३० बजे अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षतासहित उद्घाटन मन्तव्य दिने छु।

-बिहान १०:३० बजे स्पेन सरकारका अध्यक्ष महामहिम पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यवद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड इभेन्टमा सम्बोधन गर्नेछु।

-अपराह्न १२:३० पछि नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (यूएनआरसी) को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिका लागि सशक्त सहनशीलता तथा जलवायु वित्तिय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएसन) उच्चस्तरीय साइड इभेन्टलाई सम्बोधन गर्नेछु।

-अपराह्नमा नै नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा सम्बोधन गर्नेछु।

  • दिउँसो ३ बजे थिम आधारित राउन्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन) मा सम्बोधन गर्ने कार्यक्रम छ।

-साँझ ८ बजे स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्नुहुने रात्री भोजमा हाम्रो सहभागिता हुनेछ।

पाँचौँ दिन, असार १८ गते। हामी सेभियाबाट म्याड्रिड फर्किने छौँ। म्याड्रिड पुगेसँगै कार्यक्रममा संलग्न हुने तालिका तय भएको छ।

-साँझ ५ बजे बाट सुरु हुने नेपाल-स्पेन बिजनेस तथा लगानी प्रवर्धन साँझ नामक कार्यक्रममा मैले त्यहाँको प्रतिष्ठित व्यवसायीहरूलाई सम्बोधन गर्नेछु। नेपालमा लगानी गर्न आह्वान गर्नेछु।

छैटौँ दिन, असार १९ गते। हाम्रो भ्रमणको अन्तिम दिन। स्वदेश फर्किनुअघि रियल म्याड्रिड फुटबल क्लवका अधिकारीहरूसँगको भेटघाट र सान्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम छ।

समयले साथ दिए केही महत्त्वपूर्ण स्थानहरूको अवलोकन साथै हाम्रो राजदूतावासको अवलोकन गरिने छ।

अन्तिम कार्यक्रमका रूपमा स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट राखिएको छ।

यसै दिन राति १०:४५ बजे दोहाको लागि प्रस्थान गरिने छ। हप्ता दिनपछि असार २० गते दिँउसो ४:४५ बजे हाम्रो काठमाडौँमा अवतरण गर्ने कार्यतालिका छ।