समाचार

हरियाली कायम गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्छः वनमन्त्री ठकुरी

१४ असार, काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरलाई न्यूनीकरणका लागि वृक्षरोपणमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

‘हरियाली बढाऔँ, हिमाल जोगाऔँ’ भन्ने नाराका साथ राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा वन तथा भू–संरक्षण विभागद्वारा आज गोदावरीमा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले सरकारले वन, वन्यजन्तु र जडीबुटीको संरक्षण गर्दै बताए।

उनले वनको संरचनामा रहेका कानूनी जटिलतालाई समाधानका लागि पुरानो ऐनलाई समयसापेक्ष संशोधन र परिवर्तनको तयारी भइरहे जानकारी दिए । मन्त्रीले ठकुरीले सरकारले एक घर दुई रुख अभियान अगाडि बढाउने तयारी गरिरहेको उल्लेख गर्दै वन क्षेत्रमा फलफूलजन्य बोटविरुवा रोपेर मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीनकरण गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले मानिसको जन्मदेखि मृत्युुपर्यन्त रुखको महत्व रहेको भन्दै समृद्धिको लागि बृक्षारोपण आवश्यक भएको बताए ।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले देशको ४६ प्रतिशत भूगोल वन क्षेत्रबाट जम्मा रु दुई अर्ब आम्दानी लिन नसकेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बाढिपहिराले क्षतविक्षत बनाएको स्थानमा बृक्षरोपण र पुनःनिर्माणलाई जोड दिँदै बगरमा परिणत भएका मानिसका बस्तीहरुलाई संरक्षण गर्न जोड दिनुपर्ने बताए।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वनलाई प्रभावकारी रुपमा संरक्षण गर्न र वनबाट उत्पादित सामग्री सहज रुपमा उपयोग गर्न सक्ने गरी वनसम्बन्धी ऐन तथा नियमावलीहरु संशोधन गरिनुपर्नेमा जोड दिए । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले नेपालका एक करोड ६२ लाख उपभोक्ता वनमा आबद्ध भएको बताए । उनले देशको अर्थतन्त्रमा सामुदायिक बनको योगदानलाई अभिवृद्धि गर्न जोड दिने बताए ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले शून्य कार्बन उत्सर्जनअन्तर्गत तीन करोड वृक्षरोपणलाई जोड दिँदै ७७ जिल्लामा रहेका ८४ वटा डिभिजन वन कार्यालयमार्फत निःशुल्क बिरुवा वितरण हुने जानकारी गराए।