राजनीति

जनता र देशका लागि काम नगर्ने नेताहरूलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्छः उपप्रधानमन्त्री सिंह

१८ असार, काठमाडौँ । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालीरहेका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान निर्माणका क्रममा हस्ताक्षर गर्नेहरूले अहिले आएर संविधानको विरोध गर्नु उचित नहुने धारणा राखेका छन् ।

आज काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले २०१७ सालमा गुमेको जनताको मौलिक अधिकार २०४६ सालमा प्राप्त गरिएको कसैले बिर्सिन नहुने बताए ।

उनले भने “१७ सालमा खोसिएको जनताको मैलिक अधिकार फिर्ता ल्याउन ३० वर्ष कुर्नु प¥र्यो । सर्वमान्य नेता गणेशमान सिंहको पहलमा ४६ सालमा प्राप्त गरेको बिर्सिनु हुँदैन । प्राप्त गरेको अधिकार सुरक्षित गर्न सक्नुपर्छ । संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरूले विरोध गर्नु उचित हुँदैन ।”

उनले आफूहरू जनताको सेवाका लागि राजनीतिमा आएकाले आफ्नो धर्म भनेको जनताको सेवा गर्ने भएको बताउनुभयो । उनले भने, “सरकारको कामकारबाहीलाई जनताले हेरेर बसिरहेका छन् । जनता र देशका लागि काम नगर्ने नेताहरूलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्छ ।”

सहरी विकासमन्त्री सिंहले निजामती विधेयकमा केही तलमाथि भएके भन्दै विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताए । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने उनको भनाइ छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले अहिले नगरको आफ्नो भवन निर्माण भएकाले सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले नगरको नयाँ भवन निर्माण भएकोप्रति खुसी व्यक्त गर्नुका साथै नागरिकलाई सेवा प्रवाहमा सहज होस् भन्ने शुभकामना व्यक्त गरेका थिए  । करिब रु ५१ करोड बढी लागतमा उक्त भवन निर्माण गरिएको जनाइएको छ । आजको कार्यक्रममा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।