समाचार

सुरक्षाका आवश्यक सबै मापदण्ड पालना गर्न जिल्ला प्रशासन बाराद्वारा जगदम्बा स्टिल्सलाई निर्देशन

१९ असार,, वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउनको लागि जगदम्बा स्टिल्स कारखानाका प्रतिनिधिलाई निर्देशन दिएको छ । गएराति सो कारखानाको कच्चा पदार्थ पगाल्ने ३० टनको भट्टीमा भएको आमस्मिक आगलागी भएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जगदम्बा स्टिल्स वरपर मानव वस्ती र सोही उद्योगमा कार्यरत मजदूरको सुरक्षाको लागि पनि आवश्यक सुरक्षाका मापदण्ड कडाईपूर्वक पालना गर्नका लागि उद्योगलाई निर्देशन दिएको  बताए ।

“सो दुर्घटना भएको थाहा पाउने बित्तिकै स्थलगत अनुगमन गरेका थियौँ,” उनले भने, “उद्योग वरपर मानव वस्ती र उद्योगमा कार्यरत मजदुरको पनि सुरक्षाको विषयमा गम्भिर चासो राखेका छौँ । अगामीका दिनमा पनि यस्ता खालका दुर्घटना नहोस भन्नका लागि सुरक्षा मापदण्ड पालना गर्नका लागि अनुरोध गर्दछु ।” 

प्रजिअ अधिकारीले दुर्घटना भएको उद्योगले मात्रै नभएर अन्य उद्योग कलकारखानाले पनि सुरक्षाका मापदण्ड कडाइपूर्वक पालना गर्नुपर्ने बताए ।

जगदम्बा स्टिल्स लिमिटेडले विहीबार प्रेस विज्ञप्ती जारी गरेर बुधबार राति ९ः१५ बजेका समयमा जीतपुर–सिमरा उपमहानगरपालिका–२ स्थित उद्योगको हाताभित्र रहेको सिसिएम प्लान्टमा कच्चा पदार्थलाई पगाल्ने क्रममा ३० टनको भट्टी चलिरहेको अवस्थामा अकस्मात आगजनी भएर पड्किन गएको जनाएको छ ।  कम्पनीका अनुसार सो घटनामा परेर भारत विहार राज्य समस्तिपुर स्थायी घर भई कारखानामा कार्यरत अजय बैठा घाइते भएको थिए  । 

घाइते बैठाको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । कम्पनीले एक जना घाइते हुनुबाहेक अन्य कुनै पनि मानवीय क्षति नभएको दावी गरेको छ । “उद्योगमा भने ठूलो मात्रामा भौतिक क्षति भएको छ,” कम्पनीद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, “उक्त घटना के कसरी हुन गयो भन्ने बारेमा सम्बन्धित पक्ष र यस प्रतिष्ठानबाट अनुसन्धान भइरहेको अवगत गराउन चाहान्छौँ ।” 

कम्पनीले विभिन्न खालका सामाजिक सञ्जालमा विभिन्न खालका अफ्वाह फैलाइएकोमा भने गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रजिअ अधिकारीले सो घटनाको विषयमा इलाका प्रहरी कार्यालय सिमराले आवश्यक अनुसन्धानसमेत गरिरहेको जानकारी दिए । “इलाका प्रहरी कार्यालयले सो घटनाको सम्बन्धमा आवश्यक छानविन गरिरहेको छ,” उनले भने, “सो को प्रतिवेदनसँगै आवश्यक कदम चाल्नेछौँ ।”