२० असार, बनियानी (झापा) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त लगानी भएर सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्ने बताएका छन् ।झापाको हल्दिबारी गाउँपालिकालाई आज यहाँ आयोजित पूर्णसाक्षर पालिका घोषणा गर्दै लिङ्देनले सरकारले सामुदायिक विद्यालयमा प्रशस्त लगानी गरे पनि नतिजा खस्किनुको कारण खोज्नुपर्ने समय आएको बताए। “कहाँ कमजोरी भयो, यति धेरै लगानी गरेर पनि सामुदायिक विद्यालयको परिणाम कमजोर हुनुको कारण के हो ?”, उनले भने, “निजी विद्यालयभन्दा किन कमजोर छ ?”
भौतिक पूर्वाधारदेखि शिक्षक तथा कर्मचारीको तलब, तालिम सबै विषयमा निजीभन्दा सामुदायिक विद्यालय पहुँचयोग्य रहेका बताउँदै सङ्घीय सांसदसमेत रहेका लिङ्देनले शिक्षक अभाव भएका ठाउँमा पालिकाहरूले निजी स्रोतबाट शिक्षक नियुक्त गरेको आफूले पाएको उल्लेख गरे । “भवन नभएर वा तलब नपुगेर वा तालिम नभएर कारण के होकि, कमजोरी र कारणहरू हामीले खोज्नुपर्छ”, उनले भने, “हाम्रो देश कस्तो बनाउने भन्ने कुरा अहिले उत्पादन भएका विद्यार्थीबाटै हो, आगामी भविष्य र नेपाल कस्तो हुन्छ भन्ने हामीले उत्पादन गर्ने विद्यार्थीले निर्धारण गर्छन् ।” आगामी दिनमा देश राम्रो/नराम्रो जस्तो बने पनि त्यसको जस र अपजस शिक्षकले पनि लिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा शैक्षिकसत्र २०८१ को एसइई परीक्षमा हल्दिबारीबाट उत्तीर्ण भएका तीन सय आठ विद्यार्थीमध्ये उत्कृष्ट ३२ विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । प्रमुख अथिति लिङ्देन, गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलगायतले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरे ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले एसइईमा नगरका सामुदायिक विद्यालयबाट दुई सय ८९ र निजीबाट एक सय ७८ गरी चार सय ६७ विद्यार्थी सहभागी भएकामा सामुदायिकबाट एक सय ३८ र निजीबाट एक सय ७० जना उत्तीर्ण भएका जानकारी दिए । उनले गत वर्षभन्दा उत्तीर्ण प्रतिशत वृद्धि भएको बताउँदै गत वर्ष सामुदायिक विद्यालयमा उत्तीर्ण प्रतिशत २७ रहेकामा यस वर्ष बढेर ४८ पुगेको बताए ।
कार्यक्रममा गाउँपालिकाले तयार पारेको गाउँ शिक्षा योजना पुस्तिका सार्वजनिक गरिएको छ । गाउँपालिकाकी शिक्षा शाखा प्रमुख जनककुमारी राईले शिक्षा क्षेत्रको सुधारका लागि पञ्चवर्षीय गाउँ शिक्षा योजना पुस्तिका तयार पारिएको बताए । गाउँपालिकामा साक्षरता दर ९५ प्रतिशत रहेको प्रमुख राईले बताए ।
त्यस्तै, हल्दिबारीलाई पूर्णखोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनलाई प्रमाणपत्र हस्तान्तरण गरे ।
६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री
गाउँपालिकाले आज यहाँका ६८ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी पालिकाले उनीहरूलाई सहायक सामग्री वितरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मैनालीले स्वागत गरेक ाथिए । अध्यक्ष लिङ्देनले पालिकाले प्रदान गरेको सहायक सामग्रीको सदुपयोग गर्न आग्रह गरे । अपाङ्गता भएकाहरूको दैनिकीलाई सहज बनाउन सहायक सामग्री वितरण गरिएकाले अधिकतम उपयोग गर्न उनले आग्रह गरे ।
आज कार्यक्रममा सहायक सामग्री लिन आउन नसकेका÷छुटेकालाई घरघरमा पुर्याउन कर्मचारीहरूलाई निर्देशन पनि दिए । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, करुणा फाउन्डेसनसँगको सहकार्यमा र हल्दिबारी गाउँपालिकाले आठ लाख ९६ हजार बराबरको सहायक सामग्री वितरण गरेको गाउँपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापामगरले जानकारी दिए ।
कार्यक्रममा ह्वीलचियर १३ थान, वैशाखी सात थान, श्रवणयन्त्र १२ थान त्रिपल स्टिक छ थान, एलस्टिक १२ थान, नेक एक थान, एयर मेट्रेस दुई थान, स्टेनिङ फ्रेम तीन थान, ट्वाइलेट स्टेचर छ थान, वकिङ फ्रेम दुई थान र सिपी ह्वीलचियर दुई थान वितरण गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए ।