२१ असार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि निकै सहयोग गरेको बताएका छन् ।
साहित्यकार गोपालप्रसाद रिमालको १०८औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले आज यहाँ रामहिटीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा उनले गीत सुनरै आफूहरू प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा सहभागी भएको स्मरण गरे । गीतले दैनिक जीवनमा पारेको प्रभावबारे अध्ययन गरिनुपर्नेमा पनि मन्त्री पन्तको जोड थियो ।
दक्षिण एसियाली क्षेत्रको कम्युनिष्ट आन्दोलनमा पनि गीतले प्रभाव पारेको बताउँदै उनले नेपालको माओवादी सशस्त्र द्वन्द्वमा पनि गीत सङ्गीत क्षेत्रको भूमिकाबारे समेत चर्चा गरे ।
प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले काठमाडौँको उत्तरपूर्वी भेग साहित्यिक रूपमा अग्रस्थानमा रहेको बताए । आफू गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख भएका बेला धर्म, संस्कृति र साहित्यिक क्षेत्रको विकासका लागि काम गरेको उनले उल्लेख गरे ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, आयोजक संस्थाका अध्यक्ष हेमनाथ पौडेललगायतले नेपाली साहित्य एवं गीत सङ्गीत क्षेत्रमा रिमालको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई प्रदान गरिएको थियो ।