२२ असार, काठमाडौँ । नेपाल मेडिकल एशोसिएशनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितीलाई थप जटिल बन्न नदिइ वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एशोसिएशनले आग्रह गरेको छ ।
नेपाल बारका महासचिव केदारप्रसाद कोइरालाले आज प्रेस विज्ञप्ति जारी गरी वार्ताद्वारा समस्या समाधान गर्न नेपाल सरकार र नेपाल मेडिकल एशोसिएशनलगायत सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरिएको हो ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल मेडिकल एशोसिएशनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितीलाई थप जटिल बन्न नदिई वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एशोसिएशन, नेपाल सरकार र नेपाल मेडिकल एशोसिएशनलगायत सम्वद्ध सबै सरोकारवालालाई हार्दिक आग्रह गर्दछौँ ।”
राष्ट्रिय महत्वका एवं सार्वजनिक सरोकारका मुद्दा र अन्य मुद्दामा अदालतबाट भएका फैसलाका बारेमा आमसञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बारको भनाइ छ ।
अदालतबाट भएका विभिन्न फैसलाका बारेमा पूर्णपाठ तयार भएपछि बारले फैसला अध्ययन समितिमार्फत प्राज्ञिक अध्ययन गरी आफ्नो धारणा सार्वजनिक गर्ने गरेको समेत विज्ञप्तिमा छ ।