ब्रेकिङ न्युज

‘स्व कोइरालाले जनता नै सर्वोच्च शक्ति हुन भन्ने मान्यता स्थापित गर्नुभएको छः नेता सिटौला

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले जनता नै सर्वोच्च शक्ति भएको मान्यता स्थापित गर्नुभएको बताएका छन् ।

जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रद्वारा आज यहाँ आयोजित ‘गिरिजाप्रसाद कोइराला र आजको राजनीतिक परिस्थिति’ विषयक कार्यक्रममा उहाँले जीवनभर विश्राम नलिइ साहसिक र जनहितको पक्षमा राजनीतिक गर्ने कोइरालाबाट नेपाली युवाले प्रेरणा लिने थुप्रै विषय भएको धारणा राखे ।

पार्टीका पूर्वमहामन्त्री सिटौलाले भने, “विसं २०६२/६३ को आन्दोलनका कमाण्डर कोइरालले नेपालको राजनीतिक इतिहासमा जनताभन्दा माथि कोही छैन भन्ने मान्यता स्थापित गर्नुभयो । नेपालका राजनीतिक पार्टीले जनतालाई नै सर्वोपरि र सर्वोच्च ठानेर काम गर्नुपर्छ भन्नुभयो । उहाँ देश, जनता र पार्टीप्रति निष्ठावान भई सहमति, सहकार्य र एकताको भावना लिएर अघि बढ्नुपर्छ भनेर दृढ मान्यता राख्नुहुन्थ्यो ।”

 फरक विचार लिएर हिँडेका राजनीतिक दललाई पनि गोलबन्द गर्दै मुलुकलाई हिंसाको अवस्थाबाट निकास दिन उनी सफल भएको भन्दै राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता सिटौलाले सङ्घीयता, समावेशी लोकतन्त्र, समावेशीता कोइरालाको राजनीतिकको मूल आदर्श थियो भने ।  

गणतन्त्र घोषणा गर्ने प्रस्ताव पनि गिरिजाप्रसाद कोइरालाकै मन्त्रिपरिषद्ले गरेको घटना सुनाउँदै उनले अब संविधानले निर्माण गरेका संरचनालाई जनताको पक्षमा क्रियाशील तुल्याउन गम्भीरतापूर्वक समीक्षा गर्न आवश्यक रहेकामा जोड दिए । उहाँकै कार्यकालमा तत्कालीन विद्रोही माओवादीले हतियार छोडेर शान्ति प्रक्रियामा अघि बढेको घटना सुनाउँदै पूर्वउपप्रधानमन्त्री सिटौलाले कोइरालाको जीवनबाट आजका युवापुस्ताले प्रेरणा लिनुपर्ने धारणा राखे ।

पूर्वमन्त्री भीमसेन दास प्रधानले नेपालको राजनीतिक इतिहासमा कोइरालालाई युगपुरुषका रूपमा सबैले स्मरण गरिरहने धारणा व्यक्त गरे । पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाली राजनीतिक इतिहासमा गिरिजाप्रसाद परिवर्तनका धार बुझ्नसक्ने दूरदर्शी र आँटिलो व्यक्तिको रूपमा स्थापित हुनुभएको बताए ।

अर्का केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले पूर्वसभापति कोइरालाले अघिसारेका कदम र विचारलाई आत्मसात् नगर्दा पार्टीले बाटो बिराएको हो कि भन्ने प्रश्न उब्जिएको प्रतिक्रिया दिए ।

केन्द्रीय सदस्य धना खतिवडाले कांग्रेस कमजोर हुन्छ भन्ने पक्षलाई आत्मसात् गर्दै रक्तपातपूर्ण अवस्थाबाट मुलुकलाई शान्तितर्फ डोहो¥याउन स्व कोइरालाले प्रदान गरेको नेतृत्वदायी भूमिका नेपाली राजनीतिमा सधैँ अमर रहने बताए ।

केन्द्रीय सदस्य तारामान गुरुङले राजनीतिक व्यवस्था परिवर्तन, शान्ति प्रक्रिया र मानवअधिकारको क्षेत्रमा पूर्वसभापति कोइरालाको नाम उच्च रहेको भन्दै सम्मान प्रकट गरे ।

केन्द्रीय सदस्य गुरु बरालले आफू र आफ्नो पार्टी हारे पनि देश र जनता कहिल्यै पछि पर्नुहुन्न भन्ने मान्यता राख्ने कोइरालाले देखाएको बाटो र मार्गलाई आत्मसात् गर्न जरूरी रहेको बताए ।

कोइरालाको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा सहभागी वक्ताले नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइराला अथक योद्धा र शिखर व्यक्तित्वका रूपमा रहेको चर्चा गरे।