मनोरञ्जन

‘चलचित्र कन्फेरेन्स’ सम्पन्न

२३ असार, काठमाडौं । ‘काठमाडौँ युनिभर्सिटी स्कुल अफ आर्ट्स’अन्तर्गत भाषा तथा आमसञ्चार विभागको आयोजनामा आइतबारदेखि सुरु दुईदिने ‘चलचित्र कन्फेरेन्स’ आज सम्पन्न भएको छ ।

कला पढिरहेका र चलचित्रमा भविष्य खोजिरहेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै चलचित्रका विषयमा जानकारी दिने ‘काठमाडौँ युनिभर्सिटी स्कुल अफ आर्ट्स’ अन्तर्गत भाषा तथा आमसञ्चार विभाग प्रमुख निर्मलमणि अधिकारीले बताए ।

“हामी विद्यार्थीलाई हरेक पक्षबाट जानकार बनाउन चाहन्छौँ, त्यसैले हामीले किताबसँगै अतिरिक्त गतिविधि गरेर ज्ञान दिन आयोजना गरेको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ”, उनले भने ।

सो कन्फेरेन्स नेपाल चलचित्र समीक्षक समाज, नेपाल चलचित्र निर्देशक समाज, काठमाडौँ पर्वतीय चलचित्र महोत्सव फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरिएको थियो ।

कन्फेरेन्समा छोटो चलचित्र प्रदर्शन गर्नुका साथै ‘फेस्टिभल फिल्म्स भर्सेस डोमेस्टिक मार्केट’ र ‘द भिजुअल ल्याङगवेज अफ नेपाली सिनेमाः स्ट्रेन्थ एण्ड लिमिटेशन’ शिर्षकमा अन्तरक्रिया गरिएको थियो ।