२४ असार, रसुवा । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
सोमबार राति ल्हेन्दे खोलामा आएको बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको र ११ जनाको उद्धार गर्न बाँकी रहेको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले उनीहरुको उद्धारको प्रयास जारी रहेको बताए । यसैबीच नेपाली सेनाको हेलिकोप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर अहिले बाढीमा फसेकाहरुको उद्धार कार्यमा सक्रिय रहेको प्रजिअ पौडेलले बताए ।
ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीनको सिमामा रहेको मितेरी पुल बगाएको छ । बाढीका कारण स्याँफ्रुबेँसी–रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आइनसकेको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक रामहरि खड्काले जानकारी दिए । बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।