अन्तर्राष्ट्रिय

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

२५ असार, गाजा सिटी । गाजाको नागरिक सुरक्षा निकायले बुधबार इजरायली हवाई आक्रमणमा कम्तीमा २२ जना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । मृतकमध्ये कम्तीमा छ जना बालबालिका रहेका छन् ।
एजेन्सीका प्रवक्ता महमुद बस्सालका अनुसार, खान युनिसको पश्चिमी क्षेत्रमा पर्ने अल–मावासी क्षेत्रमा एकै परिवारका १० जना सदस्य एकै आक्रमणमा ज्यान गुमाएका हुन् । अर्को हवाई आक्रमण गाजा सिटीको नजिकैको अल–शाटी शरणार्थी शिविरमा भएको थियो, जहाँ १० जना मारिएका र ३० भन्दा बढी घाइते भएका छन् । बस्सालका अनुसार, अल–शाटीमा मारिएका व्यक्तिहरू दुई फरक परिवारका हुन् ।

इजरायली सेनाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

“विस्फोट यति ठूलो थियो कि भूकम्पजस्तै महसुस भयो,” प्रत्यक्षदर्शी ४० वर्षीय जुहेयर जुडेहले भने ।
यी आक्रमण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वाशिंगटनमा गाजामा हमासविरुद्ध जारी सैन्य अभियानबारे छलफल भइरहेका बेला भएका हुन् ।
“अब त हामीसँग भगवान् बाहेक अरू केही बाँकी छैन,” ३६ वर्षीया अबीर अल–शर्बासीले आक्रमणपछि भने ।
गाजा सिटीको अल–शिफा अस्पतालमा सयौं जना शोकमा डुबेका नागरिक आफ्ना प्रियजनको अन्तिम विदाइमा सहभागी भएका थिए । अस्पतालका निर्देशक मोहम्मद अबु सलमियाले बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै इन्धन अभावका कारण अस्पताल केही घण्टाभित्रै सेवा बन्द हुने चेतावनी दिए ।

इजरायली आक्रमण र आपूर्ति प्रतिबन्धका कारण गाजाको स्वास्थ्य प्रणाली निकै संकटमा परेको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार २१९ जनाको मृत्यु भएको थियो, जसमा धेरैजसो सर्वसाधारण थिए । सोही घटनामा अपहरण गरिएका २५१ जनामध्ये अझै ४९ जना गाजामै बन्धक छन्, जसमा २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

इजरायलको प्रतिआक्रमणमा अहिलेसम्म गाजामा ५७ हजार ६८० भन्दा बढी मानिस मारिएको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघले यी तथ्याङ्कलाई विश्वसनीय मानेको छ ।