अन्तर्राष्ट्रिय

चीनको पाँचवर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत गिरावट

२५ असार, बेइजिङ । चीनले आफ्नो १४औँ पाँचवर्षे योजनाअन्तर्गत आर्थिक विकासका क्रममा ऊर्जा खपतमा उल्लेखनीय प्रगति गर्दै गएको छ । योजनाको पहिलो चार वर्षमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ऊर्जा खपत ११ दशमलव ६ प्रतिशतले घटेको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) का प्रमुख झेङ शानच्येले बुधबार जानकारी दिएका छन् ।

उनका अनुसार, यो कमी झन्डै एक अर्ब १० करोड टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउनु बराबर हो, जुन युरोपेली सङ्घले उत्सर्जन गरेको कुल कार्बनको करिब ५० प्रतिशत हो ।

ठूलो राष्ट्रको जिम्मेवारी

झेङले भने, “चीनले देखाएको कार्य र प्रतिबद्धताले वातावरण संरक्षणमा एउटा जिम्मेवार राष्ट्रको रूपमा आफ्नो भूमिका स्पष्ट रूपमा प्रस्तुत गरेको छ ।”

चीनले पछिल्ला वर्षहरूमा ऊर्जा दक्ष प्रविधिको प्रयोग, पुनःनवीकरणीय ऊर्जामा लगानी र ऊर्जा अपव्यय न्यूनीकरण जस्ता कदमहरूलाई प्राथमिकता दिँदै आएको छ । उद्योग, यातायात र निर्माण क्षेत्रहरूमा हरित नीतिहरूको कडाइका साथ कार्यान्वयन भइरहेको छ ।

दीर्घकालीन लक्ष्यतर्फको पाइला

चीनले सन् २०३० भित्रमा कार्बन उत्सर्जनको उच्चतम बिन्दुमा पुग्ने र सन् २०६० सम्ममा पूर्ण कार्बन तटस्थता ९शून्य उत्सर्जन० प्राप्त गर्ने लक्ष्य लिएको छ ।
यसका लागि सरकारले उद्योग रूपान्तरण, हरित पूर्वाधार विकास तथा ऊर्जा स्रोतको विविधीकरण जस्ता रणनीतिक पहलहरू अघि सारेको छ । वातावरणीय संकटका सन्दर्भमा चीनको यो कदम विश्वसमुदायका लागि सकारात्मक सन्देश भएको टिप्पणी विज्ञहरूले गरेका छन्।चीनको अनुभवले विकासशील राष्ट्रहरूलाई आर्थिक वृद्धिसँगै वातावरण संरक्षण सम्भव छ भन्ने उदाहरण दिएको छ ।