बाग्मती

कार्यकर्ताहरुलाई महासचिव पोखरेलले भने, ‘नेतृत्वको विषयमा वहस गर्न आवश्यक छैन’

२५ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको अहिलेको नेता केपी शर्मा ओली नै भएकाले नेतृत्वको विषयमा वहस गर्न आवश्यक नरहेको बताएका छन् ।

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई सम्वोधन गर्दै महासचिव पोखरेलले उक्त धारणा राखेका हुन् । त्यस अवसरमा महासचिव पोखरेलले पार्टीको विधान अधिवेशन नजिकिदै गरेको विद्यमान सन्दर्भमा कार्यकताहरुलाई नीति र विधिमा केन्द्रीत हुन आग्रह गरे । त्यस अवसरमा आफ्नो थप धारणा राख्दै महासचिव पोखरेलले– ‘जननेता मदन भण्डारीले अगाडि सार्नु भएको बहुदलीय जनवादको अवधारणालाई अहिलेको नेतृत्वले सही ढंगले कार्यान्वयन गरेको हुनाले मुलुक आज लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा आइपुगेको छ’ भने । साथै, उनले नेकपा एमालेमा आन्तरिक समस्या छ भनेर गरिएको हल्ला विरोधीहरुको प्रोपोगाण्डा भएको उल्लेख गर्दै प्रदेशदेखि लिएर जिल्ला, इलाका र शाखा कमिटीहरुलाई कटिबद्ध भएर जिम्मेवारी बोध गर्न स्मरण गराए ।
नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षमा भएको उक्त बैठकमा महासचिव पोखरेलले नेता–कार्यकर्ताहरुलाई पार्टीको पक्षमा हुनेगरी विचार प्रवाह गर्नुपर्ने बेला आएको बताए । ‘विगतका सरकारहरुको तुलनामा एमाले–काँग्रेस गठबन्धनको वर्तमान वर्तमान सरकारले राम्रो काम गरेको छ । देशको आर्थिक सूचकहरुमा सुधार आएको छ, सुशासन, राजनीतिक स्थीरता र वैदेशिक सम्बन्धमा बलियो बन्दै गएको छ । सरकारले राम्रो काम गरेको कुुरा पछिल्ला आंकाडाहरुले पनि स्पष्ट गरेको छ । हामीले पछिल्ला आंकाडाहरु र प्रमाणहरुलाई देखाएर सामाजिक सञ्जालमा आउने गरेका गलत सूचना र हल्लाहरुको प्रतिवाद गर्नु पर्छ’ उनले भने । कार्यक्रममा नेकपा एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले पनि मन्तव्य राखेका थिए ।
नेकपा एमाले उपत्यका विशेष प्रदेश अन्तर्गत पेशागत, मजदूर, विद्यार्थी र उद्योग गरी चारवटा जिल्ला कमिटी रहेको छ । पेशागत जिल्ला कमिटीमा १५ वटा, मजदूर जिल्ला कमिटीमा १३ वटा, उद्योग जिल्ला कमिटीमा १२ र विद्यार्थी जिल्ला कमिटीमा १५ वटा इलाका कमिटी रहेको जानकारी सो अवसरमा अध्यक्ष प्रेमकुमार पराजुलीले दिए ।