समाचार

बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

८ साउन, बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो । बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भएको जानकारी दिएका छन्।

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्रु बोकेर आएको जीप यात्रु बढी भएर कच्ची सडकमा अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीपमा सवारमध्ये १५ जना घाइते भएका हुन् । घाइतेको उद्धारका लागि हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थल पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताएका हुन् । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

सोही घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय बाजुराले जनाएको हो।