१० साउन, लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको बुटवल उपमहानगरपालिकाअन्तर्गत सञ्चालित विभिन्न विकास आयोजनाको आज निरीक्षण गरेका छन् ।
उनले रुपन्देही निर्वाचन क्षेत्र नं २ मा सञ्चालित विकास आयोजनाको कार्यान्वयन र गुणस्तरीयताका विषयमा शुक्रबारदेखि उनले यहाँ निरीक्षण गरिरहेका छन् । अर्थमन्त्री पौडेलले आइतबार पनि जिल्लाका विभिन्न विकास आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल नगर अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिए।
पौडेलले आज बुटवल उपमहानगरपालिका–१२, १३ र १५ मा सञ्चालित विभिन्न विकास आयोजनाको निरीक्षण गरे । त्यस क्रममा बुटवल उपमहानगरपालिका–१३ स्थित प्रदेश सरकारअन्तर्गत निर्माण हुने उजिर सिंह रङ्गशालाको निरीक्षण तथा स्थानीयसँग छलफल गर्दै उनले नियम, कानुन र प्रक्रियागत जटिलता फुकाउन केही ढिला भए पनि अब रङ्गशाला निर्माणको काम अघि बढ्ने बताए । उपप्रधानमन्त्री पौडेलले बुटवलको विकास निर्माणका लागि राम्रा योजना ल्याए बजेटको अभाव नहुने भन्दै आश्वस्त पारे । “बुटवललाई अब धुलो–हिलोमुक्त सडक बनाउने अभियान थाल्छौँ, त्यसका लागि बजेटको चिन्ता गर्नु पर्दैन । यहाँ सञ्चालित विकास–निर्माणका काममा जनस्तरबाट गुणस्तर, काममा ढिलाइ र प्राविधिक अनुगमन भए/भएका विषयमा नागरिक निगरानी हुनु जरूरी छ । तपाईंहरूले यसमा ध्यान दिनुहोला”, उनको भनाइ थियो ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्ले गत फागुन ६ गते गरेको निर्णयअनुसार उक्त आयोजना युवा तथा खेलकुद मन्त्रालयबाट प्रदेश पूर्वाधार विकास प्राधिकरणमा हस्तान्तरण गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ । आयोजनाको कुल लागत अनुमान ५३ करोड रहेको छ । आयोजना दुई चरणमा कार्यान्वयन गर्न हाल पहिलो चरणअन्तर्गत १० करोड ७६ लाख ६१ हजार लागतसहित ‘टेन्डर’ स्वीकृत भएको आयोजनाका इन्जिनियर शङ्कर सुवेदीले जानकारी दिए । आयोजनाअन्तर्गत रङ्गशालामा भिलिएनसहितको फुटबल स्टेडियम, मल्टिप्रपोज कभर्डहल, स्विमिङ पुल, क्यान्टिन, पार्किङ, बाल उद्यान निर्माण गरिने उनले बताए ।
त्यस अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जनचाहनाअनुसार बुटवलको विकासमा जनतासँग सहकार्य गरेर अघि बढ्ने बताए ।
उपप्रधानमन्त्री पौडेलले आजै बुटवल– १५ स्थित कर्साघाटामा निर्माण प्रस्ताव गरिएको कृषिउपज केन्द्र क्षेत्रको अवलोकन गरे चालु आर्थिक वर्षमा कृषिउपज केन्द्रका लागि जग्गा प्राप्ति गरेर भौतिक पूर्वाधार निर्माणका काम अघि बढाइने लक्ष्य रहेको छ । यसका लागि चार अर्बभन्दा बढी लगानी हुने जनाइएको छ । यस्तै, उपप्रधानमन्त्री पौडेलले वडा नं १५ मा निर्माणाधीन बुटवल तामनगर–फर्साटिकर सडक, नयाँगाउँ खानेपानी आयोजना, बुटवल–१३ को सेवा पथ, बेलवास–झोलुङ्गेपुल सडकलगायतको निरीक्षण गरेका छन् ।





