अन्तर्राष्ट्रिय

नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद’ स्थापना गर्ने इरानको तयारी

१७ साउन, एजेन्सी । इरानले आफ्नो नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद’ स्थापना गर्ने तयारी गरिरहेको छ ।

सोही परिषद्को संरचना छिट्टै नै अन्तिम रूप दिइने जानकारी शुक्रबार समाचार एजेन्सीले दिएको हो । यसले इरानको रक्षा नीति सम्बन्धी रणनीतिक कार्यहरू सञ्चालन गर्ने जिम्मेवारी पाउने भएको छ । सोही निर्णय इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद (एसएनएससी) मा भइरहेका संरचनात्मक सुधारहरू पूरा भए पश्चात लिइएको हो ।

इरानका सर्वोच्च नेताका सल्लाहकार तथा पूर्व-सांसद अध्यक्ष अली लारीजानीलाई सम्भावित रूपमा छिट्टै एसएनएससीको नेतृत्व गर्ने गरी नियुक्त गरिने सम्भावना छ । हालको सचिव अली अकबर अहमदियनले भने देशका विशेष तथा रणनीतिक मामिलाहरू सम्हाल्ने अपेक्षा गरिएको हो । जसमा उच्चस्तरीय व्यवस्थापन र समन्वय आवश्यक पर्ने विषयहरू पर्दछन् ।

एसएनएससी सम्बन्धित नौर न्यूजले सामाजिक सञ्जाल एक्समा प्रकाशित एक पोस्टमार्फत आवश्यक तयारी र संरचनात्मक सुधारहरू पश्चात केही उच्च स्तरीय सुरक्षा संस्थाहरूमा छिट्टै परिवर्तन हुने सम्भावना बढेको जनाएको हो ।