राजनीति

पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायीत्वलाई आत्मसाथ गर्न विशेष महाधिवेशन नै आजको विकल्प: उपमहासचिव शर्मा

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले देश र जनताका लागि आफू आत्मालोचना मात्रै नभएर जुनसुकै त्याग गर्न पनि तयार रहेको दावी गरेका छन् ।

जारी पार्टी स्थायी कमिटीको बैठकमा आइतबार उपमहासचिव शर्माले तर त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल पनि तयार हुनुपर्ने धारणा राखेका हुन् । बैठकमा शर्माले सरकारबाट बाहिरिएपछि सुरू भएको सुशासनको अभियानलाई अध्यक्ष दाहालले नेपाली कांग्रेस र नेकपा एमालेसँगको २ बुँदे सहमतिमा लगेर बिसाएको आरोप लगाएका थिए ।

उपमहासचिव शर्माले वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकता, विधि र संगठनात्मक प्रणालीमा संकट लगायतका कारणले समस्या उत्पन्न भएको निष्कर्ष पनि निकालेका छन् ।जनसंगठनहरु समेत तयार गर्न, पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायीत्वलाई आत्मसाथ गर्न विशेष महाधिवेशन नै आजको विकल्प रहेको उनको ठहर छ ।

शुक्रबारदेखि शुरू भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा शनिबारसम्म बोल्ने अधिकांश नेताहरूले उपमहासचिव शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका थिए । पछिल्लो समय अध्यक्ष दाहाल र उपमहासचिव शर्माबीचको अन्तरविरोध छताछुल्ल भएको छ ।